भीमसेनेश्वरमा अनुशासन कार्यशाला

Publish Date: 2024-06-20


बेथानचोक–५, मदनबास, भङ्गालास्थित श्री भीमसेनेश्वर मा.विमा आज २०८१ असार ०६ गते विहिबारका दिन विद्यालयमा क्रियाशिल अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा १ दिने विद्यार्थी अनुशासन तथा शैक्षिक उत्प्रेरणा सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक देवराज लामाले कार्यशालाको अध्यक्षता ग्रहण गर्दै विद्यालयको आफ्नै सक्रियतामा सञ्चालित यो किसिमको कार्यक्रम बेथानचोककै पहिलो र नमुना भएको बताउनुभयो ।

विद्यालयमा निरन्तर विद्यार्थीहरुमा अनुशासनमा कमि हुँदै गएको परिपेक्ष्यमा विद्यार्थीहरुको आचरण सुधार गर्दै सिकाइ क्षमता अभिवृद्धि गर्ने र सफल व्यक्तित्व उत्पादन गर्ने उदेश्यका साथ यस किसिमको कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहजीकरण अतिरिक्त क्रियाकलाप समितिका संयोजक एवं शिक्षक छवि श्रेष्ठले गर्नुभएको थियो । कार्यशालामा अनुशासनको अर्थ र परिभाषा देखी विद्यार्थी जीवनमा हुनैपर्ने अनुशासनहरुको बारेमा चर्चा गरिएको थियो । विभिन्न प्रयोग र अन्र्तक्रियाका माध्यमबाट अनुशासनको महत्व प्रष्ट्याउँदै विद्यार्थीहरुमा स्व–मूल्याङ्कन गराएर व्यवहार सुधारको प्रतिवद्धता खोजिएको थियो । 

कार्यक्रममा सहभागी हुँदै विद्यालयका सहायक प्रधानाध्यापक रघुनाथ दाहालले अनुशासन र यसले व्यवहारमा पार्ने प्रभावको बारेमा चर्चा गर्नुभएको थियो । त्यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष महेश्वर खत्रीले यस किसिमको कार्यक्रम विद्यालयले आयोजना गर्नु आफैमा सराहनीय भएको बताउँदै निरन्तरताको लागि आग्रह गर्नुभयो ।

त्यसैगरि कार्यक्रममा आफुले सिकेका कुरा र त्यसलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमको बारेमा आफ्नो धारणा विद्यालयको बालक्लबको अध्यक्ष रोजन खत्री, विद्यार्थीहरु अञ्जना के.सी, अनुष्का खुलाल लगायतले राखेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी लगायत शिक्षक अभिभावक संघ लगायतको उपस्थिति थियो ।