विद्यालयको परिचय
काभ्रेपलाञ्चोक जिल्लाको दक्षिण महाभारत लेकको काखमा अवस्थित हरियालीयुक्त वातावरणमा पूर्व लड्केश्वर मन्दिर, पश्चिम बेथानचोक–३ तथा बेथानचोक–४ नं. वडाहरु, उत्तर कपेर महांकाल तथा दक्षिण च्यासिंखर्कको उत्तरी क्षेत्र मदनबास भंगालाको शिरमा अवस्थित श्री भीमसेनेश्वर माध्यमिक विद्यालय नेपाल सरकार शिक्षा मन्त्रालय विभागबाट वि सं २०४० साल फागुन महिनाको ७ गते भीमसेनेश्वर प्राथमिक विद्यालयको नामबाट स्वीकृत प्राप्त गरी वि सं २०५३ सालमा नि मा.वि तह र २०६५ सालमा माध्यमिक तहमा स्तरोन्नति भएको छ ।
पटक पटकको सङ्घर्ष र प्रयास पछि विद्यालयलाई मूर्त रुप दिनका लागि तत्कालिन विषम परिस्थितिमा स्थानीय शिक्षाप्रेमी, समाजसेवी तथा वुद्धिजीविहरुको निष्कर्ष स्वरुप शक्ति र सामथ्र्यका पर्याय महावीर भीमसेनको पूजा आराधना गरि विद्यालय स्थापना गरिएको र सफल हुँदै गएकाले उनै भीमसेनको नामबाट भीमसेनश्वर नाम राखी स्थापीत विद्यालय बीचमा भीमसिनेश्वर हुँदै हाल भीमसेनेश्वरको नाममा विद्यालय सञ्चालन भएको देखिन्छ ।
तत्कालीन अवस्थामा यस क्षेत्रमा जनताका छोराछोरीले शिक्षाको ज्योतीबाट दीक्षित गर्ने उद्देश्यले स्थानीय व्यक्तित्वहरु सूर्य व तामाङ, शिक्षक अनि अभिभावकको दुवै भूमिका निर्वाह गर्ने शिक्षक रामशरण के सी, मान ब. तामाङ, गोपाल खत्री लगायतको संयुक्त प्रयासमा चन्दा देउसी भैलो अनि शारीरिक तथा मानसिक मेहेनतका बाबजुत संघर्षपूर्ण तरिकाबाट स्थापना भएको देखिन्छ । यस विद्यालयको सामाजिक परिवेशको रुपमा तामाङ समुदायको बाहुल्यता छ भने अन्य जातहरुमा क्षेत्री, दलित तथा न्यून मात्रामा नेवारहरु रहेका छन् । यस विद्यालयको सेवा क्षेत्र पट्गाउँडाँडा, पट्गाउँवेशी, भञ्ज्याङखर्क, मदनवास, भंगाला, टाकीटोल रहेका छन् ।