भीमसेनेश्वरले गर्यो दर्जनौं सम्मान

Publish Date: 2024-02-20


आफ्नो ३९ औँ वार्षिक उत्सब एवं ४० औँ जन्मोत्सव समारोहको अवसर पारी श्री भीमसेनेश्वर मा.वि बेथानचोक-५ ले आज विद्यालयका संस्थापक, जग्गादाता, चन्दादाता, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतलाई सम्मान गरेको छ । समारोहका प्रमुख अतिथि  बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, ५ नं वडा अध्यक्ष राजकुमार वाइबा लगायतले उक्त सम्मान अर्पण गरेका हुन् । त्यसैगरी कार्यक्रममा संस्थापक प्रधानाध्यापक रामशरण के.सीलाई विद्यालय स्थापना र कठिन परिस्थितिमा सञ्चालन गरेबापत विशेष सम्मान, पूर्व प्रधानाध्यापक तथा शिक्षक राजेन्द्र तिमल्सिनालाई बिदाइ तथा सम्मान, पूर्व प्रधानाध्यापक तथा शिक्षक जयबहादुर के.सी र सहायक प्रधानाध्यापक रघुनाथ दाहाललाई दीर्घसेवी शिक्षकको रूपमा सम्मान अर्पण गरिएको छ ।


इतिहासमै पहिलो पटक आफ्नो जन्मोत्सव मनाएको यस विद्यालयले विभिन्न सहयोगी दाता एवं विभिन्न भूमिका रहि योगदान पूर्याउने महानुभावहरूलाई कदर-पत्र समेत अर्पण गरेको छ । जादुगर तथा हाँस्यव्यङ्ग्य कलाकार राजेन्द्र गिरी(गुन्द्रुके), जादुगर डान्सर मिना राई गिरी, गायक आ.एस राजगोपाल, गायक जनक लामा, सर्जक उमेश श्रेष्ठ, गायक सुन्दर सुनाम लगायतले आफ्नो प्रस्तुति दिएको उक्त कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूले समेत आफ्नो साँस्कृतिक कला प्रस्तुत गरेका थिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धावा लामाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि अधिकारीले विद्यालयले गरेको अनुसरण योग्य कार्यको प्रशंसा गर्दै मिलेर शैक्षिक तथा भौतिक सुधार गर्न तयार रहेको बताए भने उपाध्यक्ष तिमल्सिनाले बेथानचोकमा भीमसेनेश्वरले पछिल्लो समयमा राम्रो फड्को मारेको बताउँदै अझ जागरुक भएर लाग्न आग्रह गरिन । कार्यक्रममा बोल्दै वडा अध्यक्ष राजकुमार वाइबा, संस्थापक प्रधानाध्यापक रामशरण के.सी, पूर्व अध्यक्ष पाल्चेन लामा, आत्मविकास मा.विका शिक्षक लालकृष्ण फुँयाल लगायतले विद्यालयलाई शुभकामना दिए । प्रधानाध्यापक देवराज लामाले कार्यक्रमको औचित्यता र विद्यालयको समग्र गतिविधि माथी प्रकाश पारे भने पूर्व प्रधानाध्यापक एवं शिक्षक जयबहादुर के.सी ले सबैलाई स्वागत गरे । झण्डै ३०० भन्दा बढी अभिभावक एवं विद्यार्थीहरूको उपस्थितिमा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको कार्यक्रममा सहायक प्रधानाध्यापक रघुनाथ दाहाल, शिक्षक छवि श्रेष्ठ, भगवान खत्री लगायतले मन्तव्य राखेका थिए ।